"धनकुटा जिल्लाको परिचय"

नेपाल एकिकरण हुनु अघि हालको धनकुटा जिल्लाको भू-भाग पल्लो किरात राज्य अन्तरगत पर्दथ्यो काठमाडौँ मल्ल राजाहरुको शासनकालको समयमा धनकुटा भेगमा ङ्गहाङङ्गको दर्जाबाट लिम्बूहरु राज्य पर्दथे । त्यस ताका अरुण नदीको वारिपट्टी चौदण्डी पल्लो किरातका १७ थुमका १२ जना हाङहरु राज्य गर्दथे । सन १७७४ मा पृथ्वीनारायण शाहले किपट नामक सन्धी गरेर नेपालमा एकिकरण गरेको देखिन्छ ।

राणा प्रधानमंन्त्री वीर सम्सेरको कार्यकाल वि.स. १९४२ सालमा शाहकालिन नेपालका १० जिल्लाहरुलाई ३२ जिल्लामा विभाजन गरियो । ती मध्ये पहाडी २० जिल्लाहरुमा सामन्यतया एक जना वडाहाकिम रहने व्यवस्था लागु गरियो । जस मध्ये धनकुटा जिल्ला एउटा विशेष स्थान थियो । धनकुटा गौडा वडाहाकिमको अधिनमा पूर्व १ नम्वर,२ नम्वर,३ नम्वर,४ नम्वर इलाम र धनकुटा गरि ६ वटा जिल्ला पर्दथे ।
यो जिल्लाको पूर्व पट्टि तेरथुम र पाँचथर जिल्ला पर्दछन, उत्तर पट्टि संखुसभा जिल्ला,पश्चिम पट्टि भोजपूर र उदयपूर जिल्ला र दक्षिण पट्टि मोरङ र सुनसरी जिल्लाहरु पर्दछन । क्षेत्रफलको हिसावले यो जिल्ला ८८७ वर्ग किलोमिटर छ भने जनघनत्व १६५.५ प्रति वर्ग किलोमिटर छ । यो जिल्लालाई प्रशासनिक विभाजनको हिसावले ३५ वटा गाउँ विकास समिति १ वटा नगरपालिका, २ वटा निर्वाचन क्षेत्र ,११ वटा इलाका र ३ वटा नगर विकास समिति रहेका छन । धनकुटा जिल्ला पहाडी प्रदेशमा अवस्थित छ । जिल्लाको ज्यादै सानो भाग ०.१५० सिवालिक क्षेत्रमा रहेको छ भने वाँकी सवै भाग मध्य पहाडी क्षेत्रमा पर्दछ । यो जिल्ला महाभारत पर्वत श्रृङखलाको उत्तरी भागमा रहेको छ । महाभारत पर्वत श्रृङखलामा फैलिएको हुँदा धनकुटा जिल्लालाई पहाडी प्रदेश र बेंशी प्रदेश भौगोलिक क्षेत्रमा विभाजन गरेर हेर्न सकिन्छ ।
जनसंख्याको विवरण हेर्दा धनकुटा जिल्लामा महिला ८०,८६० र पुरुष ८७,९७२ गरि कुल जनसंख्या १६८,८३२ मात्र रहेको छ । यस जिल्लामा आदिवासी जनजाती जनसंख्या १११,६३६ रहेको छ ।

भेडेटारको परिचय

धनकुटा जिल्लाको सदरमुकाम देखि ३६ किमि दक्षिण तथा सुनसरी जिल्लाको धरान बजार देखि १६ किमि उत्तरमा सानो सुन्दर भेडेटार बजार रहेको छ । यो पूर्व श्री अन्तु पछिको रमणीय र पर्यटकीय स्थान पनि हो । समुन्द्र सतहबाट यो स्थान मात्र १४२० मीटर उचाइमा रहेको छ । यो बजार धनकुटा जिल्लाको प्रवेशद्धार नै हो ।
भेडेटार बजारलाई चिरेर कोशी राजमार्ग नागवेली आकारले गएको छ । भेडेटारबाट पूर्व तर्फ काम्फेक- राजारानी हुँदै पांचथरको रवि-राँके निर्माणाधिन राजमार्गको कच्ची मोटर बाटो गएको छ । पश्चिम तर्फ आहाले-वराह क्षेत्र निर्माणाधिन सडक भइरहेको छ । यो स्थान मनोरम प्राकृतिक सौर्न्दर्यका साथै बाह्रै महिना चिसो हावा वहने हुनाले गर्मी महिनामा शितल ताप्न तथा पिकनिक खेल्नका लागि मानिसहरुको भिड लाग्ने गर्दछ । यहाँ भारतको सिलगुडी ,फारविजगन्ज सम्मका तथा उक्त राष्ट्रबाट अतिथिको रुपमा धरान, इटहरी, इनरुवा, विराटनगर आउनेहरुलाई भेडेटार एकै छिन भए पनि घुमाउने चलन नै चलेको प्रसस्तै देखिन सकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित यस बजारमा १२ महिना चिसो हावा बहने, छिनछिनमा बादलको लुकामारीले कस्को मन नलोभिएला-हिमाल, तराई, पहाड सवै स्थान यहि ठाउँबाट हेर्न र अनुभव गर्न सकिन्छ। यहाँ पिकनिक खेल्नका लागि नेपाल लगायत भारतको केहि भु-भागबाट समेत आउछन् ।यहाँ स्थित बनभोज स्थलहरु पर्याप्त नभए पनि प्रसस्त नाङ्गा पाखाहरु भने पाउन सकिन्छ । थुम्काहरु प्रशस्त नै पाउन सकिन्छ । यातायात, संचार, खानेपानी, होटल, रेष्टुरा आदिको राम्रो प्रबन्ध रहेको छ। अझ व्यवस्थित वजार, व्यवस्थित शौचालय, व्यवस्थित पिकनिक रिसोर्टको व्यवस्था हुन सकेको खण्डमा पर्यटकीय व्यवशायको वृद्धिविकास हुने संभावना रहेको छ ।